Close sidebar

गौरीशङ्कर बहुमुखी क्याम्पसमा १ करोड रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरिने

चरिकोट । दोलखा सदरमुकाम चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले १ करोड रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने तयारी गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षय कोष स्थापना गर्न लागिएको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिए । जिल्लामा उच्च शिक्षाको अवस्थाबारे स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवालाहरुबीच भएको छलफलमा उनले यस्तो जानकारी दिएका हुन् ।

शुक्रबार शैलुङ गाउँपालिकाको कालापनीमा जिल्ला समन्वय समितिले सो कार्यक्रमको आयोजना गरेको थियो । क्याम्पसले सबै स्थानीय तहलाई छात्रवृत्ति अक्षय कोषका लागि सहयोग गर्न आग्रह समेत गरेको छ । क्याम्पस प्रमुख केसीले जिल्लाकै अग्रणी शैक्षिक संस्था गौरीशङ्कर क्याम्पसमा जिल्लाभरीका विद्यार्थीहरु अध्ययन गर्न आउने भएकोले आफ्नो पालिकाबाट अध्ययन गर्न आउने गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि सहयोग गर्न आग्रह गरे ।

Advertisement

Advertisement

उनका अनुसार अत्यन्तै न्यून शुल्कमा पढाउँदा समेत विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएका कारण छुट माग्ने तथा पढाई नै छोड्ने समस्या बढ्न थालेपछि क्याम्पसले छात्रवृत्ति अक्षय कोष स्थापना गर्न लागेको हो ।

छात्रवृत्ति अक्षय कोषको विषयलाई आगामी गाउँ तथा नगरसभामा पेश गरेर आवश्यकता अनुसार अगाडि बढ्ने जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । कोषमा हालसम्म करिब २० लाख रुपैयाँ रकम जम्मा भईसकेको क्याम्पस प्रशासनले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?